ne_ta/translate/choose-team/01.md

9.3 KiB

अनुवाद समूहको महत्त्व

बाइबल अनुवाद गर्ने कार्य वृहत र कठिन कार्य हो, यस काममा धेरै मानिसहरूको आवश्यकता पर्न सक्छ । यस मोड्युलमा बाइबल अनुवाद समूहका सदस्यहरूको निम्ति आवश्यक सिपहरू र ती व्यक्तिहरूको जिम्मेबारीहरूको बारेमा छलफल गरिन्छ । केही व्यक्तिहरूसँग धेरै सिपहरू र जिम्मेबारीहरू हुन्छन्, र अन्य व्यक्तिहरूका थोरै सिप र जिम्मेबारीहरू हुन्छन् । तर बाइबल अनुवाद समूहमा यो यी सिपहरू भएका जिम्मेबारीहरू पूरा गर्न सक्‍ने गरी प्रयाप्त मानिसहरू समेट्नु जरूरी छ ।

मण्डली अगुवाहरू

अनुवाद परियोजना सुरु गर्नु अगाडि सकेसम्म बढी मण्डली सञ्‍जालहरूसँग सम्पर्क गरेर तिनीहरूलाई यस परियोजनामा भाग लिन र अनुवाद समूहमा सामेल हुनको निम्ति मानिसहरूलाई पठाउन हौसला प्रदान गर्नुपर्छ । अनुवाद परियोजना, यसका लक्ष्यहरू र यसको प्रक्रियामा तिनीहरूको राय-सल्लाह लिनुपर्छ ।

अनुवाद समिति

अनुवादको यस कामलाई मार्गनिर्देश गर्न, अनवुादकहरू छनौट गर्न, समस्याहरूको समाधान गर्न, र मण्डलीहरूलाई यस कामको निम्ति प्रार्थना र यस कामलाई मदत गर्नको निम्ति आह्वान गर्नको निम्ति मण्डली र मण्डली सञ्‍जालहरूका अगुवाहरूले एउटा समिति गठन गर्नु राम्रो हुन्छ ।

यस समितिले तह २ र ३ मा अनुवादको शुद्धता जाँच्‍नको निम्ति मानिसहरू छान्‍न सक्छन् ।

समय आएपछि यस समितिले अनुवादको ढाँचाको निर्णय गर्न, यसको वितरण र अनुवादित धर्मशास्त्रलाई मण्डलीमा प्रयोग गर्नको निम्ति प्रोत्साहन दिन सक्छ ।

अनुवादकहरू

यी मानिसहरूले अनुवादको खेस्रा तयार गर्ने छन् । तिनीहरूको नियुक्ति अनुवाद समितिले गर्ने छ । लक्षित भाषा तिनीहरूको मातृभाषा हुनुपर्छ, तिनीहरूले स्रोत भाषा (गेटवे भाषा) राम्ररी पढ्न सक्नुपर्छ, यसको साथै तिनीहरू आफ्ना ख्रीष्टियान चरित्रको कारण समुदायमा सम्मानित हुनुपर्छ । यसको बारेमा विस्तृत जानकारीको निम्ति अनुवादकका योग्यता हेर्नुहोस् ।

यिनीहरूको काम पहिलो ख्रेस्रा तयार गर्नुका साथै, समूह निर्माण गरेर एकअर्काको कामको जाँच गर्नु, भाषा समुदायमा अनुवादको जाँच गर्नु र तह २ र ३ का जाँचकीहरूबाट सल्लाहहरू लिनु पनि हो । हरेक समीक्षा वा जाँच सत्रपछि अनुवादमा आवश्यक परिमार्जन गर्नु अनुवादकहरूको काम हो ताकि अनुवादले उत्तम तरिकाले भन्‍न खोजेको कुरा सञ्‍चार गर्न सकोस् । यसरी तिनीहरूले अनुवादलाई धेरैभन्दा धेरै पटक संशोधन गर्नुपर्छ ।

टाइप गर्ने व्यक्तिहरू

अनुवादकहरू आफैले अनुवादको खेस्रालाई कम्प्युटर वा ट्याबमा टाइप गर्ने अवस्था नभएमा समूहबाट कसैले त्यो काम गर्नुपर्छ । त्यस्तो व्यक्ति धेरै गल्ती नगर्ने किसिमको हुनुपर्छ । उक्त व्यक्तिले विराम चिन्हहरूको प्रयोग ठीक तरिकाले गर्न जानेको हुनुपर्छ । हरेक जाँचपछि समीक्षाहरू र सुधारहरूलाई टाइप गर्ने काम पनि त्यही व्यक्तिको हो ।

अनुवाद जाँच गर्ने व्यक्ति

केही व्यक्तिहरूले भाषा समुदायमा अनुवादको जाँच गर्नुपर्छ ताकि अनुवाद लक्षित भाषामा स्पष्ट र स्वभाविक सुनियोस् । यो काम प्रायः गरेर अनुवादकले नै गर्छन् तर अरू व्यक्तिले पनि यो काम गर्न सक्छन् । यी जाँच गर्ने व्यक्तिले मानिसहरूको सामु अनुवादलाई पढेर सुनाउँछन् र उनीहरूले बुझे नबुझेको हेर्छन् । यस कार्यको विवरणको लागि अन्य तरिकाहरूहेर्नुहोस् ।

परीक्षकहरू

अनुवादको शुद्धता जाँच गर्ने व्यक्तिहरू स्रोत भाषामा बाइबललाई राम्ररी बुझेका व्यक्तिहरू हुनुपर्छ । तिनीहरू स्रोत भाषामा राम्ररी पढ्न सक्‍ने हुनुपर्छ । अनुवादले स्रोत बाइबलमा भएका सबै कुराको सञ्‍चार गरे नगरेको जाँच गर्नको निम्ति तिनीहरूले अनुवादलाई स्रोत भाषासँग तुलना गर्ने छन् । यी व्यक्तिहरू अनुवादमा रूची भएका र राम्ररी जाँच गर्न सक्‍ने हुनुपर्छ । तिनीहरूले लक्षित भाषा प्रयोग गर्ने र अनुवादित बाइबलको प्रयोग गर्ने विभिन्‍न मण्डली समूहका सदस्यहरूलाई सामेल गर्न सके असल हुन्छ । तह २ का परीक्षकहरू व्यक्तिहरू स्थानीय मण्डलीका अगुवाहरू हुनुपर्छ । तह ३ का परीक्षकहरू मण्डली समूहहरूको अगुवा वा लक्षित भाषा समूहमा चर्चित व्यक्ति हुनुपर्छ । धेरै मानिसहरू व्यस्त भएको कारण फरक पुस्तकहरू वा खण्डहरू विभिन्‍न मानिसहरूलाई पठाउनु उचित हुन्छ, यसो गर्दा एक वा दुई व्यक्तिलाई सम्पूर्ण अनुवादको भारबाट बचाउन सकिन्छ ।