ne_ta/checking/accuracy-check/01.md

13 KiB

एकेडेमीको निम्ति अनुवादको जाँच

नयाँ अनुवाद ठीक छ भन्‍ने कुराको निश्‍चित गर्नु नै यस खण्डको उद्देश्य हो । अर्को शब्दमा, के स्रोत अनुवादसँग तुलना गर्दा नयाँ अनुवादले त्यही अर्थ बुझाउँछ (त्यही शब्द वा क्रममा हुनुपर्छ भन्‍ने छैन)?

तह एक

तह एकको शुद्धता जाँच्‍ने व्यक्तिहरू अनुवाद समूहका सदस्यहरूमध्येबाट पनि हुनसक्छन्, तर ती व्यक्तिहरूले आफूले अनुवाद गरेका कथा वा बाइबल खण्डहरूको शुद्धता भने जाँच्‍नु हुँदैन । ती व्यक्तिहरू अनुवाद समूहका सदस्य बाहेकका समुदायका अन्य कुनै सदस्य हुन सक्छन् । ती व्यक्तिहरूले अनुवाद भाषा बोल्ने, समुदायमा सम्मानित, र सम्भव हुन्छ भने, वृहत्तर सञ्‍चारमा प्रयोग गरिने भाषामा बाइबललाई राम्ररी जानेको हुनुपर्छ । यो चरणको उद्देश्य भनेको अनुवादले मूल कथा वा बाइबल खण्डको अर्थलाई सही तरिकाले सञ्‍चार गरोस् भन्‍ने कुरा निश्‍चित गर्नु हो । जाँचकीहरूले कथा वा बाइबल खण्डको अर्थलाई आफ्नो भाषामा अनुवाद गर्ने उत्तम तरिकाको बारेमा सोच्‍न अनुवादकहरूलाई मदत गरिरहेका हुन्छन् । कुनै एउटा कथा वा बाइबल खण्डको जाँच गर्ने व्यक्ति एक जना वा एकभन्दा बढी पनि हुनसक्छन् । एकभन्दा धेरै जाँचकीहरू हुनु फाइदाजनक हुनसक्छ, किनकि फरक-फरक जाँचकीहरूले फरक-फरक कुराहरू देख्छन् ।

तह दुई र तीन

तह दुई व तीनमा शुद्धता जाँच गर्ने काम अनुवाद समूहका सदस्यहरूबाट गरिनुहुन्‍न । ती व्यक्तिहरू सोही भाषा बोल्‍ने र स्रोत भाषामा बाइबललाई राम्ररी बुझेका मण्डलीका अगुवाहरू हुनुपर्छ । भाषाको सामुदायिक जाँच गर्ने समुदायका सदस्यहरूले भाषामा स्वभाविकपन र स्पष्टताको लागि अनुवादको जाँच गर्ने क्रममा स्रोत पाठलाई हेर्नुहुँदैन भन्‍ने कुरा सत्य हो । तर स्रोत पाठलाई नयाँ अनुवादसँग तुलना गर्न सकियोस् भनेर शुद्धता जाँच्‍ने व्यक्तिहरूले शुद्धताको जाँचको लागि स्रोत पाठलाई हेर्नुपर्छ

सबै तहहरूको निम्ति

जाँच गर्ने व्यक्तिहरूले निम्‍न चरणहरूको अनुसरण गर्नुपर्छः

१. हरेक जाँचकीहरूले अनुवाद आफैँले पढ्नुपर्छ (वा रेकर्ड सुन्‍नुपर्छ), यसो गर्दा तिनीहरूले अनुवादलाई वृहत्तर समुदायको भाषाका बाइबल खण्डहरू वा कथालाई तुलना गर्नुपर्छ । जाँचकीले स्रोत बाइबल वा बाइबलहरू हेर्दै गर्दा अनुवादकले जाँचकीलाई पढेर सुनाउनु उपयोगी हुन्छ । जाँचकीले अनुवाद पढ्ने वा सुन्‍ने र स्रोतसँग तुलना गर्ने क्रममा जाँचकीले निम्‍न प्रश्‍नहरू मनमा राख्‍नुपर्छः

  • के यस अनुवादले मूल अर्थमा केही कुरा थप गर्छ? (मूल अर्थभित्र अप्रत्यक्ष जानकारी पनि पर्छ ।)
  • के अनुवादमा केही अर्थका भाग छुटेका छन्?
  • के अनुवादले अर्थ परिवर्तन गरेको छ?

२. कुनै ठाउँमा समस्या छ वा सुधार्नु पर्ने ठाउँ छ भने जाँचकीले त्यसको टिपोट गर्नुपर्छ । हरेक जाँचकीले यी टिपोटहरूको बारेमा अनुवाद समूहसँग छलफल गर्ने छ ।

३. जाँचकीहरूले व्यक्तिगत रूपमा कुनै बाइबल कथा वा अध्यायको जाँच गरेपछि अनुवादक वा अनुवादक समूहसँग भेट गरी कथा वा बाइबल खण्डको समीक्षा गर्नुपर्छ । भेट भएपछि जाँचकीहरूले समस्याहरू वा प्रश्नहरूको टिपोट गर्छन्, जाँचकीहरूले आफ्ना प्रश्नहरू सोध्‍न सक्छन् वा सुधारको निम्ति सल्लाह दिन सक्छन् । जाँचकीहरू र अनुवाद समूहले प्रश्‍नहरू र सल्लाहहरूको बारेमा छलफल गर्ने क्रममा अन्य प्रश्‍नहरू वा कुनै कुरालाई नयाँ तरिकाले बताउने विषयमा सोच्‍न सक्छन् । जाँचकीहरू र अनुवाद समूह सँगै काम गर्दा परमेश्‍वरले कथा वा बाइबल खण्डको अर्थलाई उत्तम तरिकाले सञ्‍चार गर्न परमेश्‍वरले सहायता गर्नुहुने छ ।

४. जाँचकीहरू र अनुवाद समूहले परिवर्तन गर्नुपर्ने कुरामा सहमत जनाएपछि अनुवाद समूहले अनुवादलाई संशोधन गर्छ ।

५. अनवुाद समूहले अनुवादलाई संशोधन गरेपछि भाषामा स्वभाविकपन आओस् भन्‍ने कुरा निश्‍चित गर्नको निम्ति एकअर्कालाई वा भाषा समुदायका कुनै व्यक्तिलाई पढेर सुनाउनुपर्छ ।

६. अनुवादक (वा समूह) अझ पनि बुझ्‍नलाई कठिन भएका बाइबल खण्डहरू र जाँचकीहरूबाट सहायता चाहिने खण्डको टिपोट बनाउँछन् । अनुवादकहरूलाई अर्थ बुझेर अझ स्पष्टसँग सञ्‍चार गर्नलाई मदत गर्नको निम्ति तह दुई र तीनमा मण्डलीका अगुवाहरू र जाँचकीहरूले ती टिपोटहरूको प्रयोग गर्छन् ।

थप प्रश्‍नहरू

अनुवादमा हुन सक्‍ने असुद्धताहरू पत्ता लगाउनको निम्ति यी प्रश्‍नहरू उपयोगी हुन सक्छन्ः

  • स्रोत भाषामा व्यक्त गरिएकास सबै कुराहरू नयाँ अनुवादमा पनि प्रयोग गरिएका छन्?
  • नयाँ अनुवादको अर्थले स्रोत अनुवादको सन्देशको (शब्दक्रमको कुरा गरेको होइन)अनुसरण गरेको छ? (कहिलेकहिँ स्रोत अनुवादभन्दा फरक शब्दक्रम वा विचारको क्रम भए तापनि त्यो राम्रो सुनिन्छ र त्यो शुद्ध नै हुन्छ ।)
  • कथामा भएका मानिसहरूले स्रोत भाषामा भएको जस्तै कार्य गरिरहेका छन्? (स्रोत भाषासँग तुलना गर्दा गरिएको कार्य कसले गरेको हो भन्‍ने कुरा थाहा पाउन सजिलो भयो?)
  • नयाँ अनुवादमा स्रोत भाषासँग मेल नखाने अनुवाद शब्दहरूको प्रयोग गरिएका छन्? यस्ता कुराहरूको बारेमा सोच्‍नुहोस्ः तपाईंका मानिसहरूले स्रोत भाषाबाट सापटी नलिइकन पुजारी (परमेश्‍वरको निम्ति बली चढाउने) वा मन्दिर (यहूदीहरूले बली चढाउने ठाउँ) के भन्छन् ?
  • स्रोत भाषामा बुझ्‍नलाई कठिन लाग्‍ने वाक्यांशहरूलाई नयाँ अनुवादमा बुझ्‍न सकिन्छ? (नयाँ अनुवादमा वाक्यांशहरूलाई अझ राम्ररी बुझ्‍ने र स्रोत भाषाको अनुवादको अर्थ फरक नपर्ने किसिमले प्रयोग गरिएको छ?)
  • कुनै पाठ शुद्ध र सही छ कि छैन भनेर छुट्याउने अर्को तरिका भनेको "कसले के, कहिले, कहाँ, कसरी र किन गर्‍यो" जस्ता प्रश्‍नहरू सोध्‍नु हो । यसमा मदत गर्नको निम्ति पहिले नै प्रश्‍नहरू तयार गरिएका छन् । (अनुवाद प्रश्‍नहरू हेर्नको निम्ति http://ufw.io/tq/ मा जानुहोस् ।) यी प्रश्‍नहरूका जवाफहरू स्रोत भाषा अनुवादसँग मेल खानुपर्छ । यदि मेल खाएनन् भने अनुवादमा समस्या छ भन्‍ने कुरा थाहा हुन्छ ।