ne_ta/translate/guidelines-faithful/01.md

13 KiB

विश्‍वासयोग्‍य अनुवादहरू

बाइबलप्रति विश्‍वासयोग्‍य रहेको अनुवाद बनाउनका लागि, तपाईंले आफ्‍नो अनुवादमा कुनै पनि राजनीतिक, साम्रदायिक, वैचारिक, सामाजिक, सांस्कृतिक, वा ईश्‍वरशास्‍त्रीय पूर्वाग्रह आउन दिनुहुँदैन । मूल बाइबलीय भाषाहरूको शब्दावलीप्रति विश्‍वासयोग्‍य रहेका शब्दहरूलाई चयन गर्नुहोस् । परमेश्‍वर पिता र परमेश्‍वर पुत्रको बीचमा भएको सम्बन्धलाई वर्णन गर्ने बाइबलीय शब्दहरूको लागि भाषाका समान खालका चलिआएका शब्दहरू प्रयोग गर्नुहोस् । यिनीहरूलाई पादटिप्‍पणीहरूमा वा अन्य अतिरिक्त सामग्रीहरूमा आवश्‍यक भएअनुसार स्‍पष्‍ट बनाउन सकिन्छ ।

बाइबल अनुवादकको रूपमा तपाईंको लक्ष्य भनेको बाइबलको मूल लेखकले प्रवाह गर्न चाहेको उही सन्देशलाई प्रवाह गर्नु हो । यसको अर्थ हो कि तपाईंले तपाईंको आफ्‍नै सन्देशलाई, वा बाइबलले भन्‍नुपर्छ भनेर तपाईंले विचार गर्नुहुने सन्देशलाई, वा बाइबलले भन्‍नुपर्छ भनेर तपाईंको मण्‍डलीले विचार गर्ने सन्देशलाई प्रवाह गर्न खोज्‍नुहुँदैन । कुनै पनि बाइबलको खण्‍डको लागि, तपाईंले त्यसले भनेको कुरालाई, त्यसले भनेको सबैकुरालाई, र त्यसले भनेको कुरालाई मात्र सञ्‍चार गर्नुपर्छ । तपाईंको आफ्‍नै उल्‍थाहरू वा सन्देशहरूलाई बाइबलमा राख्‍ने वा बाइबलको खण्‍डमा नभएको अर्थ सन्देशमा थप्‍ने परीक्षालाई तपाईंले विरोध गर्नैपर्छ । (बाइबलको खण्‍डको सन्देशले अन्तर्निहित जानकारीलाई समावेश गर्छ । हेर्नुहोस् अनुमानित ज्ञान र अन्तर्निहित जानकारी ।)

तपाईंले ती प्रमुख शब्दहरूलाई पनि चयन गर्नैपर्छ जुन मूल बाइबलीय भाषाहरूको शब्दावलीप्रति विश्‍वासयोग्‍य छन् । तपाईंले यी शब्दहरूका अर्थहरूलाई बुझ्‍नुहुन्छ भनेर पक्‍का गर्नका लागि अनुवादका शब्दहरूका परिभाषाहरूलाई पढ्नुहोस् । यी प्रमुख शब्दहरूका उही अर्थहरू हुने गरेर अनुवाद गर्नुहोस्, र केवल तपाईंको पास्‍टर, तपाईंको गाउँका अगुवाहरू, वा तपाईं आफैँलाई खुशी पार्नका लागि मात्र तिनलाई फरक तरिकामा अनुवाद नगर्नुहोस् ।

सधैँ विश्‍वासयोग्‍य तवरमा अनुवाद गर्न निम्‍न दिइएका कारणहरूले गर्दा कठिन हुन सक्‍छः

१. तपाईंको मण्‍डलीले केही बाइबलका खण्‍डहरूलाई उल्था गर्ने तरिकामा तपाईंलाई बानी लागिसकेको हुन सक्‍छ, र त्यहाँ अरू पनि उल्‍थाहरू छन् भनेर थाहा नभएको हुन सक्छ ।

  • उदाहरणः जब तपाईंले “बप्‍तिस्मा दिने” भन्‍ने शब्दलाई अनुवाद गरिरहनुभएको हुन्छ, त्यो शब्दलाई “छर्कनु” भन्‍ने अर्थ लाग्‍ने शब्द प्रयोग गरेर अनुवाद गर्न तपाईंलाई इच्‍छा लाग्‍न सक्‍छ, किनभने तपाईंको मण्‍डलीले त्यसै गर्छ । तर अनुवादका शब्दहरू पढिसकेपछि, तपाईंले बुझ्‍नुहुन्छ कि त्यो शब्दको “डुबाउनु”, “चोप्‍नु”, “धुनु”, वा “शुद्ध पार्नु” जस्ता थुप्रै अर्थहरू लाग्‍छन् ।

२. तपाईंलाई बाइबलको कुनै खण्‍डलाई त्यो लेखिँदाखेरी त्यसको अर्थ के थियो भन्‍ने कुराअनुसारको साटोमा, तपाईंको संस्कृतिमा मिल्‍ने गरेर अनुवाद गर्न इच्‍छा लाग्‍न सक्‍छ ।

  • उदाहरणः उत्तरी अमेरीकाको समाजमा स्‍त्रीहरूले मण्‍डलीहरूमा बोल्‍ने र प्रचार गर्ने कुरा सामान्य कुरा हो । त्यो संस्कृतिबाटको कुनै अनुवादकलाई १ कोरिन्थीहरू १४:३४ मा भएका शब्दहरूलाई प्रेरित पावलले लेखेको जत्तिकै कडा नभएको तरिकामा अनुवाद गर्न परीक्षा हुन सक्छ, जुन खासमा यसरी छः “ ... स्‍त्रीहरू मण्‍डलीहरूमा चुपचाप रहनुपर्छ ।” तर एक विश्‍वासयोग्‍य अनुवादकले बाइबलको खण्‍डको अर्थलाई त्यो जसरी छ त्यसरी नै अनुवाद गर्नेछ ।

३. तपाईंलाई बाइबलले भनेको केही कुरा मन नपर्न सक्‍छ, र त्यसलाई परिवर्तन गर्न परीक्षा हुन सक्‍छ ।

  • उदाहरणः तपाईंलाई येशूले यूहन्‍ना ६:५३ मा भन्‍नुभएको कुरा मन नपर्न सक्‍छ, “साँच्‍चै , साँच्‍चै, जबसम्‍म तिमीहरूले मानिसको पुत्रको शरीर खाँदैनौ र उसको रगत पिउँदैनौ, तिमीहरूमा आफूमा जीवन हुनेछैन ।” यो तपाईंलाई घिनलाग्‍दो लाग्‍न सक्‍छ । तर तपाईंले यसलाई विश्‍वासयोग्‍य तवरमा अनुवाद गर्नुपर्छ, ताकि तपाईंका मानिसहरूले त्यसलाई पढ्न सकून् र त्यसद्वारा येशूले के भन्‍न खोज्‍नुभयो भनेर चिन्तन गर्न सकून् ।

४. बाइबलले के भन्छ भन्‍ने बारेमा भएको विश्‍वासयोग्‍य अनुवादलाई तपाईंका गाउँमा भएका अरूहरूले पढे भने तिनीहरूले के सोच्‍लान् वा गर्लान् भनेर तपाईंलाई डर हुन सक्‍छ ।

  • उदाहरणः मत्ती ३:१७ मा भएका परमेश्‍वरका वचनहरूलाई, “यिनी मेरा प्रिय पुत्र हुन् । म यिनीसँग खुशी छु”, “पुत्र”को अर्थ नदिने शब्द राखेर अनुवाद गर्न तपाईंलाई परीक्षा हुन सक्‍छ । तर तपाईंले सम्‍झनुपर्छ कि बाइबलले के भन्छ भन्‍ने बारेमा भएको अर्थलाई बदल्‍न तपाईंलाई अधिकार छैन ।

५. तपाईंले अनुवाद गरिरहनुभएको बाइबलको खण्‍डको बारेमा तपाईंलाई केही अतिरिक्त कुरा थाहा हुन सक्‍छ जुन तपाईंको अनुवादमा थप्‍न तपाईंलाई इच्‍छा लाग्‍न सक्‍छ ।

  • उदाहरणः जब तपाईंले मर्कुस १०:११ लाई अनुवाद गरिरहनुभएको हुन्छ, “जसले आफ्‍नी पत्‍नीसँग सम्बन्धविच्‍छेद गर्छ र अर्की स्‍त्रीलाई विवाह गर्छ त्यसले त्यसको विरुद्धमा व्यभिचार गर्छ”, तपाईंलाई थाहा हुन सक्‍छ कि मत्ती १९:९ मा अर्को वाक्यांश पनि छ, “ ... यौन अनैतिकताको कारणले बाहेक ... ” । त्यसो भएपनि, यस वाक्यांशलाई मर्कुस १०:११ मा नथप्‍नुहोस्, किनभने त्यो चाहिँ विश्‍वासयोग्‍य तवरमा अनुवाद गरेको हुँदैन । साथै, तपाईंका आफ्‍नै धारणाहरू वा तपाईंको मण्‍डलीबाटका शिक्षाहरूलाई नथप्‍नुहोस् । बाइबलको खण्‍डमा भएको अर्थलाई मात्रै अनुवाद गर्नुहोस् ।

यी पूर्वाग्रहहरूलाई हटाउनका लागि, विशेषगरी तिनलाई जसको बारेमा तपाईं सचेत नभएको हुन सक्‍नुहन्छ, तपाईंले अनुवादका टिप्‍पणीहरू (हेर्नुहोस् http://ufw.io/tn/), अनुवादका शब्दहरू (हेर्नुहोस् http://ufw.io/tw/) र अनफोल्‍डिङ्ग वोर्डको सामान्यीकरण गरिएको पाठ्यखण्‍ड (हेर्नुहोस् http://ufw.io/udb/), साथै तपाईंसँग भएका अन्य अनुवादका सहयोगी सामग्रीहरू पढ्नैपर्छ । त्यसरी बाइबलको खण्‍डको अर्थ के हो भनेर तपाईंलाई थाहा हुनेछ, र त्यसलाई तपाईंले पूर्वाग्रही भएर, अविश्‍वासयोग्‍य तवरमा अनुवाद गर्ने कुरा कम सम्भाव्य हुन्छ ।

(तपाईंले http://ufw.io/guidelines_faithful मा भएको दृश्‍य सामग्रीलाई हेर्न पनि इच्‍छा गर्न सक्‍नुहुन्छ ।)