ne_tw/bible/kt/inherit.md

9.7 KiB

उत्तराधिकारी हुनु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी

परिभाषा:

शब्दहरू “उत्तराधिकारी हुनु” र “उत्तराधिकार” ले बुबा आमा वा अन्य व्यक्‍तिसित भएको विशेष सम्बन्धको कारणले तिनीहरूबाट मूल्यवान् थोक प्राप्‍त गर्ने कुरोलाई जनाउँछन् । उत्तराधिकार प्राप्‍त गर्ने व्यक्‍तिलाई “उत्तराधिकारी” भनिन्छ ।

  • प्राप्‍त गर्न सकिने भौतिक उत्तराधिकार (अर्थात् सम्पत्ति) हरूमा रुपियाँ-पैसा, जग्गा जमिन वा अन्य थोकहरू पर्छन् ।
  • आत्मिक उत्तराधिकार भनेको येशूमाथि विश्‍वास गर्ने मानिसहरूलाई परमेश्‍वरले दिनुहुने हरेक थोक हो, जसमा वर्तमान समयका आशिष्हरूसाथै उहाँसित बिताइने अनन्त जीवन पनि पर्छन् ।
  • बाइबलले परमेश्‍वरका मानिसहरूलाई उहाँको उत्तराधिकार पनि भन्छ, जसको अर्थ हुन्छ कि तिनीहरू उहाँका हुन् अर्थात् उहाँका मूल्यवान् सम्पत्ति हुन् ।
  • “सम्पदा” भनेको उत्तराधिकारजस्तै कुरो हो । तर यसले बुबा आमा अनि परमेश्‍वरबाट प्राप्‍त गरिने अभौतिक आशिष्हरू र गुणहरूलाई मात्र जनाउँछ ।
  • अब्राहाम र तिनका सन्तानहरू कनान देशको उत्तराधिकारी हुने थिए र यो तिनीहरूलाई सदाको निम्ति दिइने थियो भनी परमेश्‍वरले तिनीहरूसित प्रतिज्ञा गर्नुभयो ।
  • यसको आलङ्कारिक वा आत्मिक अर्थ पनि छ जसमा परमेश्‍वरका मानिसहरू “देशको उत्तराधिकारीहरू” हुनेछन् भनी बताइएको छ । यसको अर्थ हुन्छ, कि भौतिक र आत्मिक दुवै तरिकाले तिनीहरूले उन्‍नति गर्नेछन् र परमेश्‍वरद्वारा आशिष् पाउनेछन् ।
  • नयाँ करारमा येशूमा भरोसा गर्नेहरू “उद्धारको उत्तराधिकारीहरू” बन्‍ने छन् र तिनीहरूले अनन्त जीवन पाउनेछन् भनी बताइएको छ । यसलाई “परमेश्‍वरको राज्यको उत्तराधिकारी बन्‍नु” भनेर पनि व्यक्‍त गरिएको छ । यो एउटा आत्मिक उत्तराधिकार अर्थात् सम्पत्ति हो जुन सदाको लागि रहन्छ ।
  • यी शब्दहरूका लागि अन्य आलङ्कारिक अर्थहरू पनि छन्ः
  • बाइबलले बताउँछ कि बुद्धिमान् मानिसहरू “महिमाका उत्तराधिकारी” बन्‍नेछन् र धर्मी जनहरू “असल थोकहरूको उत्तराधिकारी” बन्‍नेछन् ।
  • “प्रतिज्ञाहरूको उत्तराधिकारी बन्‍नु” को अर्थ हुन्छ‒ परमेश्‍वरले आफ्ना मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका असल थोकहरू प्राप्‍त गर्नु ।
  • मूर्ख वा अनाज्ञाकारी मानिसहरू “बतासको उत्तराधिकारी” बन्‍नेछन् वा “मूर्खताको उत्तराधिकारी” बन्‍नेछन् भनी जनाउन यसलाई नकारात्मक अर्थमा पनि प्रयोग गरिएको छ । यसको अर्थ हुन्छ, कि तिनीहरूले तिनीहरूका पापिष्‍ठ क्रियाकलापहरूको नतिजा भोग्‍नेछन् जसमा तिनीहरूले दण्ड पाउने कुरा र बेकम्मा जीवन जिउने कुराहरू पनि पर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • सधैँजसो पहिले लक्षित भाषामा उत्तराधिकारी वा उत्तराधिकारको अवधारणाको लागि पहिले नै शब्दहरू छन् या छैनन् भनी विचार गर्नुहोस् र तिनको प्रयोग गर्नुहोस् ।
  • सन्दर्भमा आधारित रहेर “उत्तराधिकारी हुनु” लाई “प्राप्‍त गर्नु” वा “अधिकार गर्नु” वा “अधिकारी बन्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “उत्तराधिकार” लाई “प्रतिज्ञात गरिएको उपहार” वा “सुरक्षित सम्पत्ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरका मानिसहरूलाई उहाँको उत्तराधिकारको रूपमा उल्लेख गरिँदा यसलाई “उहाँका मूल्यवान् जनहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “उत्तराधिकारी” लाई “पिताका सम्पत्ति प्राप्‍त गर्ने भाग्यशाली बच्‍चा वा बच्‍ची” वा “परमेश्‍वरका आत्मिक अधिकार वा आशिष्हरू प्राप्‍त गर्न चुनिएको व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “सम्पदा” लाई “परमेश्‍वरबाट आउने आशिष्” वा “पैतृक आशिष्हरू” भनेर अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः उत्तराधिकारी, कनान, कनानी, प्रतिज्ञात देश)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०६:९-११
  • १ पत्रुस ०१:३-५
  • २ शमूएल २१:२-३
  • प्रेरित ०७:४-५
  • व्यवस्था २०:१६-१८
  • गलाती ०५:१९-२१
  • उत्पत्ति १५:६-८
  • हिब्रू ०९:१३-१५
  • यर्मिया ०२:७-८
  • लूका १५:११-१२
  • मत्ती १९:२९-३०
  • भजनसंग्रह ७९:१-३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०४-०६) जब अब्राम कनानमा आइपुगे परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तिम्रो चारैतिर हेर । तिमीले देख्‍न सक्‍ने सबै देश म तिमी र तिम्रा सन्तानहरूलाई उत्तराधिकारको रूपमा दिनेछु ।”
  • (२७-०१) एक दिन यहूदी व्यवस्थाका ज्ञाता येशूकहाँ आएर उहाँलाई यसो भने, “गुरुज्यू, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ ?”
  • (३५-०३) “त्यहाँ दुई जना छोरा भएका एक जना मानिस थियो । कान्छो छोरोले बुबालाई भन्यो, ‘बुबा, म मेरो उत्तराधिकार अहिले नै चाहन्छु ।’ त्यसैले, बुबाले आफ्नो सम्पत्ति दुई छोरालाई भाग लगाएर दियो ।”