ne_ta/translate/figs-simile/01.md

13 KiB

वर्णन

दुई फरक वस्तुहरूको तुलना गर्नको निम्ति उपमाको प्रयोग गरिन्छ। ती दुईमा साझा रहेको गुणलाई ध्यान दिइन्छ र यसमा "जस्तै", "झैँ" वा "भन्दा" जस्ता शब्दहरूको प्रयोग गरिन्छ।

तर भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै हैरान र असहाय भएका थिए। (मत्ती ९:३६)

येशूले भीडहरूलाई गोठालाविनाका भेडाहरूसँग तुलना गर्नुभयो। आफूलाई सुरक्षित ठाउँहरूमा अगुवाइ गर्ने एउटा असल गोठालाको अभावमा भेडाहरू डराउँछन्। भीडहरू पनि त्यस्तै थिए किनकि तिनीहरूसँग असल धार्मिक अगुवाहरू थिएनन्।

हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बिचमा भेडाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। (मत्ती १०:१६ यूएलटि)

येशूले आफ्ना चेलाहरूलाई भेडा र तिनीहरूका शत्रुहरूलाई ब्‍वाँसाहरूसँग तुलना गर्नुभयो। ब्‍वाँसाहरूले भेडालाई आक्रमण गर्छन् । येशूका शत्रुहरूले पनि उहाँका चेलाहरूलाई आक्रमण गर्ने थिए।

परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढी धारिलो हुन्‍छ। (हिब्रू ४:१२ क यूएलटि)

परमेश्‍वरको वचनलाई दुईधारे तरवारसँग तुलना गरिएको छ। दुईधारे तरवारले मानिसको शरीरलाई सजिले काट्न सक्छ। परमेश्‍वरको वचन मानिसको हृदय र विचारहरूलाई प्रकट गर्नको निम्ति प्रभावकारी हुन्छ।

उपमाको उद्देश्य

  • उपमाले कुनै थाहा नपाएको कुरालाई थाहा पाएको कुरासँग तुलना गरेर सिकाउन सक्छ।
  • उपमाले मानिसहरूको ध्यान केन्द्रित गर्ने गरी कुनै विशेष गुणलाई जोड दिन्छ।
  • उपमाले पढेको कुराको चित्र दिमागमा ल्याउन वा अनुभव गर्न मदत गर्छ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • मानिसहरूलाई ती दुई कुराहरू कसरी उस्तै छन् भन्‍ने कुरा थाहा नहुन सक्छ।
  • मानिसहरूलाई तुलना गरिएको वस्तुको बारेमा थाहा नहुन सक्छ।

बाइबलबाट उदाहरणहरू

ख्रीष्‍ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। (२ तिमोथी २:३ यूएलटि)

यस उपमामा, पावलले दुःखलाई सिपाहीहरूले भोग्‍नुपर्ने कुरासँग तुलना गरेका छन् र तिमोथीलाई तिनीहरूको उदाहरण पच्छ्याउनको निम्ति उत्साह दिएका छन्।

किनकि जसरी बिजुली चम्‍कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्‍म उज्‍यालो पार्छ, मानिसको पुत्र पनि आफ्‍नो दिनमा त्‍यस्‍तै हुने छ। (लूका १७:२४ख यूएलटि)

यस पदले मानिसको पुत्र बिजुलीजस्तै हुनुहुने छ भनेर बताउँदैन। यस अगाडिका पदहरूको आधारमा हामीलाई के थाहा हुन्छ भने जसरी बिजुली अचानक चम्किन्छ र सबैले देख्छन्, त्यसरी नै मानिसको पुत्र पनि अचानक आउनुहुने छ र सबैले उहाँलाई देख्‍ने छन्। यसको बारेमा कसैले बताइरहनु पर्दैन।

अनुवादका रणनीतिहरू

यदि मानिसहरूले उपमाको सही अर्थ बुझ्छन् भने यसको प्रयोग गर्नुहोस्। यदि बुझ्दैनन् भने, केही रणनीतिहरू तल दिइएका छन्ः

(१) दिइएका दुई कुराहरू कसरी उस्तै छन् भन्‍ने कुरा मानिसहरूलाई थाहा छैन भने तिनीहरू कसरी उस्तै छन् भनेर बताउनुहोस् । यदि मूल पाठकहरूलाई त्यसको अर्थ स्पष्ट थिएन भने यसो नगर्नुहोस्। (२) यदि तुलना गरिएका कुराहरूको बारेमा मानिसहरूलाई थाहा छैन भने तपाईंकै सन्दर्भमा भएको वस्तुको प्रयोग गर्नुहोस्। यसो गर्दा बाइबलमा प्रयोग गर्न मिल्ने वस्तु हुनुपर्छ। (३) उक्त वस्तुलाई कुनै कुरासँग तुलना नगरी सामान्य रूपले वर्णन मात्र गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) दिइएका दुई कुराहरू कसरी उस्तै छन् भन्‍ने कुरा मानिसहरूलाई थाहा छैन भने तिनीहरू कसरी उस्तै छन् भनेर बताउनुहोस्। यदि मूल पाठकहरूलाई त्यसको अर्थ स्पष्ट थिएन भने यसो नगर्नुहोस्।

  • हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बिचमा भेडाझैँ पठाइरहेछु। (मत्ती १०:१६ क यूएलटि) - येशूका चेलाहरूले सामना गर्नुपर्ने खतरालाई भेडाहरू ब्वाँसाहरू बिचमा हुने खतरासँग तुलना गरिएको छ।
    • हेर, म तिमीहरूलाई दुष्ट मानिसहरूका बिचमा पठाइरहेछु र तिमीहरूलाई ब्वाँसाहरूको बिचमा हुने भेडाहरूलाई जस्तै खतरा हुन्छ
  • परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढी धारिलो हुन्‍छ। (हिब्रू ४:१२ क यूएलटि)
    • परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढी शक्तिशाली हुन्‍छ।

(२) यदि तुलना गरिएका कुराहरूको बारेमा मानिसहरूलाई थाहा छैन भने तपाईंकै सन्दर्भमा भएको वस्तुको प्रयोग गर्नुहोस् । यसो गर्दा बाइबलमा प्रयोग गर्न मिल्ने वस्तु हुनुपर्छ।

  • हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बिचमा भेडाझैँ पठाइरहेछु। (मत्ती १०:१६ ) - यदि मानिसहरूलाई भेडा र ब्वाँसाहरूको बारेमा थाहा छैन वा ब्वाँसाले भेडालाई मार्छ भन्‍ने थाहा छैन भने अन्य जनावरलाई मार्ने कुनै अर्को जनावरको प्रयोग गर्नुहोस्।
    • हेर, म तिमीहरूलाई जङ्गली कुकुरहरूका बिचमा कुखुराझैँ पठाइरहेछु।
  • जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌। (मत्ती २३:३७ ख यूएलटि)
    • जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई रेखदेख गर्छ, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌।
  • तिमीहरूमा एउटा रायोको दानाजति विश्‍वास भएदेखि, (मत्ती १७:२०)
    • तिमीहरूमा एउटा सानो बिउजति विश्‍वास भएदेखि,

(३) उक्त वस्तुलाई कुनै कुरासँग तुलना नगरी सामान्य रूपले वर्णन मात्र गर्नुहोस्।

  • हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बिचमा भेडाझैँ पठाइरहेछु। (मत्ती १०:१६क यूएलटि)
  • हेर, म तिमीहरूलाई बाहिर पठाउँछु र मानिसहरूले तिमीहरूको हानी गर्न खोज्‍ने छन् ।
  • जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌। (मत्ती २३:३७ख यूएलटि)
  • मैले धेरै पल्‍ट तेरा बालकहरूको सुरक्षा गर्ने प्रयास गरें, तर तैंले मानिनस्‌।