ne_ta/translate/figs-extrainfo/01.md

6.7 KiB

वर्णन

कहिलेकहीँ कल्पित ज्ञान वा अव्यक्त जानकारीलाई स्पष्ट रूपमा व्यक्त नगर्नु नै उत्तम हुन्छ । कहिले यसो नगर्ने भन्‍ने बारे यो पृष्ठले निर्देशन दिन्छ ।

अनुवादका सिद्धान्तहरू

  • यदि वक्ता वा लेखकले सोचविचार गरेर कुनै कुरालाई अस्पष्ट छोडेका छन् भने त्यसलाई थप स्पष्ट पार्न नखोज्‍नुहोस् ।
  • यदि मौलिक पाठकहरूले वक्ताको आशय के हो सो बुझेका थिएनन् भने, यसलाई धेरै प्रष्ट नपार्नुहोस् ताकि मौलिक पाठकहरूले यसलाई नबुझेको देखेर तपाईंका पाठकहरूले अनौठो नमानून् ।
  • यदि तपाईंले केही कल्पित ज्ञान वा अव्यक्त जानकारीलाई स्पष्ट पार्नु पर्ने भएमा मौलिक पाठकहरूलाई ती कुराहरू भन्‍न जरूरी थियो भन्‍ने तरिकाले यसलाई उल्‍लेख गर्ने प्रयत्‍न नगर्नुहोस् ।
  • यदि अव्यक्त जानकारीलाई स्पष्ट बनाउँदा यसले सन्देशलाई अन्योलपूर्ण बनाउँछ वा पाठकहरूलाई मुख्य कुरा बिर्सनतिर लैजान्छ भने अव्यक्तलाई स्पष्ट नबनाउनुहोस् ।
  • तपाईंका पाठकहरूले यसलाई पहिले नै बुझिसकेका छन् भने कल्पित ज्ञान वा अव्यक्त जानकारीलाई स्पष्ट नपार्नुहोस् ।

बाइबलबाट लिइएका उदाहरणहरू

खानेबाट खानेकुरो निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो । (न्यायकर्ताहरू १४:१४ यूएलटी )

यो अड्को थियो । शिमशोनले आफ्ना शत्रुहरूलाई जान्‍न कठिन होस् भन्‍ने उद्देश्यले नै यसलाई यसरी भनेका थिए । खाने र बलियो सिंह थियो अनि गुलियो कुरो मह थियो भनेर यसलाई स्पष्ट नबनाउनुहोस् ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, "ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो ।" तिनीहरूले आपसमा बहस गर्ने लागे, "हामीहरूले रोटी ल्याएनौं..." (मत्ती १६:६,७ यूएलटी )

यहाँको केही सम्भावित अव्यक्त जानकारी भनेको चेलाहरू फरिसी र सदुकीहरूको झुटो शिक्षाबाट होशियार हुनुपर्छ भन्‍ने हो । तर येशूका चेलाहरूले यसलाई बुझेनन् । येशूले वास्तविक खमिर र रोटीको बारेमा कुरा गरिरहनुभएको थियो भन्‍ने तिनीहरूले ठाने । यसैले यहाँ प्रयोग गरिएको "खमिर" ले झुटो शिक्षालाई जनाउँछ भनी स्पष्ट पार्नु उपयुक्त हुँदैन । येशूले मत्ती १६:११ मा नबताएसम्म चेलाहरूले यसको अर्थ बुझेनन् ।

“मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो ।" तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ । (मत्ती १६:११-१२ यूएलटी)

आफूले रोटीको बारेमा बताएको होइन भनेर येशूले बताएपछि मात्र उहाँले झुटो शिक्षाको बारेमा कुरा गरिरहनुभएको रहेछ भन्‍ने कुरा तिनीहरूले महसुस गरे । यसकारण, मत्ती १६:६ मा भएको अव्यक्त जानकारीलाई स्पष्ट रूपमा उल्लेख गर्नु गलत हुन्छ ।

अनुवादका रणनीतिहरू

यस किसिमको खण्डलाई अझ स्पष्ट पार्न परिवर्तन नगर्न हामीले अनुवादकहरूलाई सुझाव दिएका हुनाले यस पृष्ठमा कुनै अनुवादका रणनीतिहरू छैनन् ।

अनुवाद रणनीतिहरू प्रयोग गरिएका उदाहरणहरू

यस किसिमको खण्डलाई अझ स्पष्ट पार्न परिवर्तन नगर्न हामीले अनुवादकहरूलाई सुझाव दिएका हुनाले, यस पृष्ठमा अनुवादका रणनीतिहरूको प्रयोग गरिएको छैन ।