ne_ta/translate/translate-literal/01.md

33 lines
6.9 KiB
Markdown

### परिभाषा
अक्षरशः गरिएको अनुवादले स्रोत पाठ्यखण्‍डको प्रारूपलाई, सम्भव भएसम्‍म, पुनरुत्पादन गर्ने कोसिस गर्छ ।
#### अन्य नाउँहरू
अक्षरशः गरिएका अनुवादहरूलाई यसो पनि भनिन्छः
* प्रारूप-आधारित
* शब्द-शब्द एउटै
* परिवर्तित अक्षरशः अनुवाद
#### अर्थमाथि प्रारूप
अक्षरशः गरिएको अनुवाद भनेको त्यो हो जसले अर्थ बदलिए पनि, वा परिणामस्वरूप बुझ्‍नलाई कठिन बने पनि, स्रोत पाठ्यखण्‍डको प्रारूपलाई लक्षित भाषामा पुनरुत्पादन गर्नमा ध्यान लगाउँछ । अक्षरशः गरिएको अनुवादको एउटा चरम संस्करण चाहिँ खासमा अनुवाद नै हुँदैन—त्यसमा स्रोत भाषाको झैँ उही अक्षरहरू र शब्दहरू हुने थियो । त्यसको सबैभन्दा नजिकैको अर्को कदम भनेको स्रोत भाषामा भएको प्रत्येक शब्दलाई लक्षित भाषाबाट त्यससँग मिल्‍ने शब्दले प्रतिस्थापन गर्ने हो । भाषाहरूको बीचमा भएको व्याकरणको भिन्‍नताहरूको कारणले गर्दा, लक्षित भाषाका पाठकहरूले सम्भवतः यस किसिमको अनुवादलाई बुझ्‍नेछैनन् । केही बाइबलका अनुवादकहरू गलत विश्‍वास गर्छन् कि तिनीहरूले स्रोत पाठ्यखण्‍डको शब्द क्रमलाई लक्षित पाठ्यखण्‍डमा कायम राख्‍नुपर्छ र केवल स्रोत भाषाका शब्दहरूको ठाउँमा लक्षित भाषाका शब्दहरू राख्‍नुपर्छ । तिनीहरूले गलत विश्‍वास गर्छन् कि यसो गर्नाले स्रोत पाठ्यखण्‍डलाई परमेश्‍वरको वचनको रूपमा आदर देखाउँछ । तर वास्तवमा यस किसिमको अनुवादले मानिसहरूलाई परमेश्‍वरको वचन बुझ्‍नबाट वञ्‍चित गर्छ । मानिसहरूले उहाँको वचन बुझेको परमेश्‍वर चाहनुहुन्छ, त्यसैले मानिसहरूले बुझ्‍न सक्‍ने गरेर बाइबललाई अनुवाद गर्नाले बाइबल र परमेश्‍वरलाई सबैभन्दा महान् आदर देखाउँछ ।
#### अक्षरशः गरिएको अनुवादका कमजोरीहरू
अक्षरशः गरिएका अनुवादहरूमा सामान्यतया निम्‍न दिइएका समस्याहरू हुन्छन्ः
* विदेशी शब्दहरू जुन लक्षित पाठकवर्गले बुझ्‍दैनन्
* शब्द क्रम कुन लक्षित भाषामा अनौठो वा नमिल्दो हुन्छ
* वाक्‍पद्धतिहरू जुन लक्षित भाषामा प्रयोग हुँदैनन् वा बुझिँदैनन्
* वस्तुहरूका नाउँहरू जुन लक्षित समाजमा पाइँदैनन्
* चलनहरूका विवरणहरू जुन लक्षित समाजमा बुझिँदैनन्
* हरफहरू जसको लक्षित भाषामा कुनै तर्कसङ्गत सम्बन्ध हुँदैन
* कथाहरू र व्याख्याहरू जसले लक्षित भाषामा कुनै अर्थ दिँदैनन्
* अन्तर्निहित जानकारीलाई छोडिएको हुन्छ जुन भन्‍न खोजिएको अर्थ बुझ्‍नका लागि आवश्‍यक हुन्छ
#### अक्षरशः एउटै रहेको अनुवाद कहिले गर्ने
अक्षरशः एउटै रहेको अनुवाद गर्ने एकमात्र समय भनेको गेटवे भाषा सामग्रीहरूको अनुवाद गर्ने बेलामा हो, जस्तो कि यूएलटी, जुन अन्य भाषा अनुवादकहरूद्वारा प्रयोग गरिनेछ । यूएलटीको उद्देश्‍य भनेको अनुवादकलाई मूल खण्‍डमा के छ भनेर देखाउनु हो । तब पनि, यूएलटी कडाइका साथ अक्षरशः छैन । यो परिवर्तित अक्षरशः अनुवाद हो जसले लक्षित भाषाको व्याकरणलाई प्रयोग गर्छ ताकि पाठकहरूले त्यसलाई बुझ्‍न सकून् (हेर्नुहोस् पाठ [परिवर्तित अक्षरशः अनुवाद](../translate-modifyliteral/01.md)) । ती ठाउँहरूमा जहाँ यूएलटीले बाइबलमा भएका मूल अभिव्यक्तिहरूलाई प्रयोग गर्छ जुन बुझ्‍नलाई कठिन हुन सक्‍छ, हामीले तिनको व्याख्या गर्नका लागि अनुवादका टिप्‍पणीहरू प्रदान गरेका छौँ ।