ne_ta/translate/figs-rquestion/01.md

20 KiB

  • कुनै जानकारी प्राप्त गर्नको लागि नभइकन कुनै कुराप्रतिको आफ्नो मनोवृत्ति व्यक्त गर्नको निम्ति आलङ्‍कारिक प्रश्‍नको प्रयोग गरिन्छ। गहिरो भावना व्यक्त गर्न वा स्रोताहरूलाई कुनै कुराको बारेमा गहिरो तवरले सोच्‍न लगाउनको निम्ति वक्ताहरूले यसको प्रयोग गर्छन्। चकित परेको कुरा व्यक्त गर्न, स्रोतालाई हप्काउन वा गाली गर्न, वा सिकाउनको निम्ति बाइबलमा आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गरिएको छ। केही भाषाका वक्ताहरूले अन्य प्रयोजनको निम्ति पनि आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गर्छन्।

वर्णन

आलङ्‍कारिक प्रश्‍नले कुनै कुराप्रति वक्ताको मनोवृत्तिलाई दृढतासाथ प्रस्तुत गर्छ । प्राय गरेर यसमा वक्ताले कुनै जानकारी प्राप्त गर्न खोजेको हुँदैन, यदि जानकारी नै प्राप्त गर्न खोजेको हो भने पनि उक्त प्रश्‍नले सोधेको जानकारी नभइकन अर्कै जानकारी जान्‍न खोजेको हुन्छ । वक्ताको चासो जानकारी प्राप्त गर्नु नभइकन केही कुराप्रतिको आफ्नो मनोवृत्ति प्रकट गर्नु हो ।

अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पुजारीको अपमान गर्छस्‌?” (प्रेरित २३:४ यूएलटि)

पावललाई यो प्रश्‍न गर्ने मानिसहरूले तिनले किन प्रधान पुजारीको अपमान गरेको भनेर जान्‍न चाहेका थिएनन्। तिनीहरूले प्रधान पुजारीको अपमान गरेको दोष देखाउन यो प्रश्‍नको प्रयोग गरेका हुन्।

बाइबलमा धेरै आलङ्‍कारिक प्रश्‍नहरू छन्। मानिसहरूलाई तिनीहरूले जानेको कुराको सम्झना गराएर कुनै नयाँ परिवेशमा त्यसको प्रयोग गर्न उत्साह दिँदै तथा आफूले कुरा गर्न खोजेको कुराको परिचय दिँदै मनोवृत्ति वा भावना व्यक्त गर्नु, मानिसहरूलाई हप्काउनु र केही कुरा सिकाउनु यी आलङ्‍कारिक प्रश्‍नहरूका केही उद्देश्यहरू हुन्।

यो अनुवादको विषय हुनुका कारणहरू

  • केही भाषाहरूमा आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गरिन्‍न, तिनीहरूको निम्ति प्रश्‍नको काम भनेको नै जानकारी प्राप्त गर्नु हो।
  • केही भाषाहरूमा आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गरिन्छ तर सिमित र बाइबलको भन्दा फरक उद्देश्यको निम्ति।
  • भाषाहरूमा भएका यी फरकहरूको कारणले बाइबलमा प्रयोग गरिएका आलङ्‍कारिक प्रश्‍नहरूको उद्देश्यलाई पाठकहरूले गलत गरिकाले बुझ्‍न सक्छन्।

बाइबलबाट उदाहरणहरू

इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्‍छ? (१ राजा २१:७ख यूएलटि)

ईजेबेलले यो प्रश्‍नको प्रयोग राजा आहाबलाई पहिले नै थाहा भएको कुरा सम्झाउनको निम्ति प्रयोग गरेकी हुन्ः उनले त्यसबेला पनि इस्राएलमाथि शासन गरिरहेका थिए। आलङ्‍कारिक प्रश्‍नले रानी ईजेबेलले भन्‍न खोजेको कुरालाई जोड दिएको छ, यसले राजा स्वयम्‌लाई यो कुरा स्वीकार गर्न कर गर्छ। तिनले गरीब मानिसको सम्पत्ति हडप्‍न हिचकिचाएको कारण तिनलाई हप्काउनको निम्ति ईजेबेलले यसो गरिन् । तिनले आहाब इस्राएलका राजा हुन् र त्यस मानिसको सम्पत्ति हडप्‍ने शक्ति राजासँग भएको कुरालाई सङ्‍केत गरेकी हुन्।

के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो। (यर्मिया २:३२ यूएलटि)

परमेश्‍वरले मानिसहरूलाई पहिले नै थाहा भएको कुराको सम्झना दिलाउनलाई माथिको प्रश्‍नको प्रयोग गर्नुभयोः कुमारीले आफ्ना रत्‍नहरू वा दुलहीले आफ्ना विवाहका गरगहनाहरू कहिले पनि बिर्सन सक्दिन। त्यसपछि ती सबैभन्दा महान्‌ परमेश्‍वरलाई बिर्सेकोमा मानिसहरूलाई हप्काउनुभयो।

गर्भबाट निस्‍कनासाथ म किन मरिनँ? (अय्यूब ३:११ क यूएलटि)

अय्यूबले गहिरो भावना व्यक्त गर्नको निम्ति माथिको प्रश्‍नको प्रयोग गरे। जन्मने बित्तिकै नमरेकोमा अय्यूब कति दुखी थिए भन्‍ने कुरा यस आलङ्‍कारिक प्रश्‍नले देखाउँछ। तिनी नबाँचेको भए हुन्थ्यो भन्‍ने तिनको इच्छा थियो।

ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌? (लूका १:४३ यूएलटि)

प्रभुकी आमा तिनीकहाँ आएको कुरामा चकित र खुसी भएको कुरा व्यक्त गर्न एलीशिबाले यो प्रश्‍न गरेकी हुन्।

तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला? (मत्ती ७:९ यूएलटि)

मानिसहरूले पहिले नै जानेको कुराको सम्झना गराउन येशूले माथिको प्रश्‍न सोध्‍नुभयोः असल बुबाले आफ्नो छोरालाई खराब खानेकुरा दिँदैन। यस प्रश्‍नबाट यस कुराको परिचय दिएपछि परमेश्‍वरको बारेमा सिकाउन अर्को आलङ्‍कारिक प्रश्‍न सोध्‍नुभयोः

यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुनेछ? (मत्ती ७:११ यूएलटि)

परमेश्‍वरले उहाँसँग माग्‍नेहरूलाई असल कुराहरू दिनुहुन्छ भन्‍ने कुरालाई जोड दिएर भन्‍नको निम्ति येशूले यो प्रश्‍न गर्नुभयो।

तब उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य केजस्‍तो छ? त्‍यसको तुलना म केसँग गरूँ? त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, … (लूका १३:१८-१९ क यूएलटि)

आफूले सिकाउन गइरहनुभएको कुरा सुरु गर्नको निम्ति येशूले माथिको आलङ्‍कारिक प्रश्‍न गर्नुभयो। उहाँले परमेश्‍वरको राज्यलाई केही कुरासँग तुलना गर्न गइरहनुभएको थियो।

अनुवादका रणनीतिहरू

आलङ्‍कारिक प्रश्‍नहरूलाई ठिक तरिकाले अनुवाद गर्नको निम्ति तपाईंले अनुवाद गर्न लाग्‍नुभएको प्रश्‍न जानकारी लिनको निम्ति सोधिने प्रश्‍न नभइएकन आलङ्‍कारिक प्रश्‍न नै हो भन्‍ने बारेमा तपाईं निश्‍चित हुनुपर्छ। यसको लागि तपाईंले आफैँलाई यो प्रश्‍न सोध्‍नुपर्छ, "के प्रश्‍नकर्तालाई प्रश्‍नको जवाफ पहिले नै थाहा छ?" यदि थाहा छ भने यो आलङ्‍कारिक प्रश्‍न हो। यदि कसैले सो प्रश्‍नको जवाफ दिएन भने प्रश्‍नको जवाफ नपाएकोमा प्रश्‍नकर्ताले दिक्क मानेको छ कि छैन हेर्नुहोस्। यदि छैन भने त्यो आलङ्‍कारिक प्रश्‍न हो।

उक्त प्रश्‍न आलङ्कारिक रहेछ भन्‍ने थाहा पाएपछि त्यस प्रश्‍नको उद्देश्य थाहा गर्नुहोस्। त्यो प्रश्‍न केको लागि सोधेको होः उत्साह दिन वा हप्काउन वा लज्जाबोध गराउन। नयाँ विषय सुरु गर्नको लागि पो त्यसको प्रयोग भएको छ कि? कुनै कुरा गर्नलाई पो हो कि!

आलङ्कारिक प्रश्‍नको उद्देश्य थाहा भएपछि लक्षित भाषाको उक्त उद्देश्य अभिव्यक्त गर्ने सबैभन्दा स्वभाविक तरिकाको बारेमा सोच्‍नुहोस्। उक्त तरिका प्रश्‍न, वा अभिव्यक्ति वा विश्मयादिबोधक हुनसक्छ।

यदि आलङ्‍कारिक प्रश्‍नको प्रयोग तपाईंको भाषामा स्वभाविक सुनिन्छ र त्यसले सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस्। यदि होइन भने, केही विकल्पहरू तल दिइएका छन्ः

(१) प्रश्‍न पछाडि जवाफ जोड्नुहोस्।

(२) आलङ्‍कारिक प्रश्‍नलाई अभिव्यक्ति वा विश्मादिबोधक वाक्यमा परिवर्तन गर्नुहोस्।

(३) आलङ्‍कारिक प्रश्‍नलाई अभिव्यक्तिमा परिवर्तन गर्नुहोस् र त्यसपछि छोटो प्रश्‍न जोड्नुहोस्।

(४) प्रश्‍नको स्वरूप परिवर्तन गर्नुहोस् ताकि तपाईंको भाषामा मूल वक्ताले भनेको कुरा सही तरिकाले सञ्‍चार हुन सकोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) प्रश्‍न पछाडि जवाफ जोड्नुहोस्।

  • के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र ? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो। (यर्मिया २:३२ यूएलटि)
    • के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र? पक्कै पनि सक्दिन! तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो।
  • तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला? (मत्ती ७:९ )
    • तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला? तिमीहरूमध्‍ये कसैले पनि यसो गर्दैन।

(२) आलङ्‍कारिक प्रश्‍नलाई अभिव्यक्ति वा विश्मादिबोधक वाक्यमा परिवर्तन गर्नुहोस्।

  • तब उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य केजस्‍तो छ? त्‍यसको तुलना म केसँग गरूँ ? त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, … (लूका १३:१८-१९ क यूएलटि)
  • परमेश्‍वरको राज्य यस्तो हुन्छ । यो रायोको बीउजस्तो हुन्छ…”
  • अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पुजारीको अपमान गर्छस्‌ ? (प्रेरित २३:४ ख यूएलटि)
  • तैँले परमेश्‍वरका प्रधान पुजारीको अपमान गर्नुहुँदैन!
  • गर्भबाट निस्‍कनासाथ म किन मरिनँ ? (अय्यूब ३:११ क युएलटि)
  • गर्भबाट निस्कनासाथ म मरेको भए हुने !
  • ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌ ? (लूका १:४३ यूएलटि)
  • मेरा प्रभुकी आमा मकहाँ आउनु कति आश्‍चर्यको कुरो !

(३) आलङ्‍कारिक प्रश्‍नलाई अभिव्यक्तिमा परिवर्तन गर्नुहोस् र त्यसपछि छोटो प्रश्‍न जोड्नुहोस् ।

  • इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्‍छ ? (१ राजा २१:७ )
    • तपाईंले अझ पनि इस्राएलमा राज्य गर्नुहुन्छ, होइन र?

(४) प्रश्‍नको स्वरूप परिवर्तन गर्नुहोस् ताकि तपाईंको भाषामा मूल वक्ताले भनेको कुरा सही तरिकाले सञ्‍चार हुन सकोस्।

  • तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला ? (मत्ती ७:९ यूएलटि)
    • यदि तिम्रो छोराले रोटी माग्दा के तिमी त्यसलाई ढुङ्गा दिन्छौ?
  • के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र ? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो। (यर्मिया २:३२ यूएलटि)
    • कुन कुमारीले आफ्ना रत्‍नहरू बिर्सन्छे, र कुन दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे ? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो।