ne_ta/translate/translate-manuscripts/01.md

4.0 KiB

मूल पाण्‍डुलिपिहरूको लेख

बाइबल थुप्रै सयौँ वर्षअगाडि परमेश्‍वरका अगमवक्ताहरू र प्रेरितहरूद्वारा परमेश्‍वरले तिनीहरूलाई त्यो लेख्‍नलाई निर्देशन गर्नुभएअनुसार लेखिएको थियो । इस्राएलाका मानिसहरूले हिब्रू बोल्‍थे, त्यसैले अधिकांश पुरानो करारका पुस्तकहरू हिब्रूमा लेखिएका थिए । जब तिनीहरू अश्‍शूर र बेबिलोनमा परदेशीहरूको रूपमा बसोबास गरे, तिनीहरूले आरमेइक भाषा बोल्‍न सिके, त्यसैले पुरानो करारका केही पछिल्‍ला भागहरू आरमेइकमा लेखिएका थिए ।

ख्रीष्‍ट आउनभन्दा तीन हजार वर्षअगाडि, ग्रीक चाहिँ वृहत् बोलचालको भाषा बन्यो । यूरोप र मध्य पूर्वमा भएका धेरै मानिसहरूले ग्रीकलाई दोस्रो भाषाको रूपमा बोल्‍थे । त्यसैले पुरानो करारलाई ग्रीकमा अनुवाद गरिएको थियो । जब ख्रीष्‍ट आउनुभयो, संसारको ती क्षेत्रमा भएका थुप्रै मानिसहरूले अझै पनि ग्रीकलाई दोस्रो भाषाको रूपमा बोल्‍थे, र नयाँ करारका सबै पुस्तकहरू ग्रीकमा लेखिएका थिए ।

त्यो समयमा कुनै छाप्‍ने उपकरणहरू थिएनन्, त्यसैले लेखकहरूले ती पुस्तकहरू हातैले लेखे । तिनीहरू नै मूल पाण्‍डुलिपिहरू हुन् । जसले यी पाण्‍डुलिपिहरूलाई सारे तिनीहरूले पनि हातैले लेखेर सारे । यिनीहरू पनि पाण्‍डुलिपिहरू थिए । यी पुस्तकहरू असाध्यै महत्त्वपूर्ण छन्, त्यसैले सार्ने व्यक्तिहरूले खास तालिम पाउँथे र तिनीहरूलाई ठ्याक्‍कै मिल्‍ने गरेर सार्नमा धेरै होशियार थिए ।

सयौँ वर्षको कालखण्‍डमा, मानिसहरूले बाइबलका पुस्तकहरूका हजारौँ प्रतिहरू बनाए । लेखकहरूले सुरुमा लेखेका पाण्‍डुलिपिहरू सबै हराइसकेका छन् वा नष्‍ट भएका छन्, त्यसैले ती हामीसँग छैनन् । तर हामीसँग थुप्रै त्यस्ता प्रतिहरू छन् जुन लामो समयअगाडि हातले लेखिएका थिए । यीमध्ये केही प्रतिहरू सयौँ र हजारौँ वर्षहरूदेखि पनि हुँदै आएका छन् ।