ne_ta/translate/figs-personification/01.md

7.5 KiB

वर्णन

कुनै वस्तु वा विचारलाई जनावर वा मानिसलाई जस्तै गरी प्रस्तुत गर्ने अलङ्‍कारलाई व्यक्तिविधान भनिन्छ । हामीले देख्‍न नसकिने कुराको बारेमा कुरा गर्न सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।

उदाहरणको लागि बुद्धिलाई लिन सकिन्छ;

के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? (हितोपदेश ८:१ )

वा पापलाई लिन सकिन्छः

पाप तेरो ढोकैमा ढुकिबस्‍छ । (उत्पत्ति ४:७ )

धन, बुद्धिजस्ता कुराहरूसँग मानिसहरूको सम्बन्धलाई यसरी व्यक्त गर्दा सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।

तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२४ )

यो अनुवादको विषय हुनुका कारणहरू

  • केही भाषाहरूमा व्यक्तिविधानको प्रयोग गरिन्‍न ।
  • केही भाषाहरूमा केही निश्‍चित परिवेशमा मात्र व्यक्तिविधानको प्रयोग गरिन्छ ।

बाइबलबाट उदाहरणहरू

तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२४ )

येशूले धनलाई मानिसहरूले सेवा गर्ने मालिकको रूपमा व्यक्त गर्नुभएको छ । पैसालाई प्रेम गरेर आफ्ना निर्णयहरू यसकै आधारमा गर्नु भनेको एउटा नोकरले आफ्ना मालिकको सेवा गरेझैँ सेवा गर्नु हो ।

के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र? (हितोपदेश ८:१ )

यहाँ बुद्धि र समझशक्तिलाई मानिसहरूलाई सिकाउनको निम्ति आवाज दिने व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । यसको अर्थ यही हो कि ती कुराहरू लुकेका नभइकन मानिसहरूले ध्यान दिनुपर्ने कुराहरू हुन् ।

अनुवादका रणनीतिहरू

यदि व्यक्तिविधानलाई सजिलै बुझिन्छ भने तिनको प्रयोग गर्नुहोस् । यदि बुझिन्‍न भने अन्य तरिकाहरू तल दिइएका छन्ः

१. यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस् । २. ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्‍नु हुँदैन भन्‍ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् । ३. व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्‍नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस् ।

  • ... पाप तेरो ढोकैमा ढुकिबस्‍छ (उत्पत्ति ४:७ ) - परमेश्‍वरले पापलाई आक्रमणको निम्ति तयार भएर बसेको जङ्गली जनावरको रूपमा व्यक्त गर्नुभएको छ । यसले पाप कति डरलाग्दो छ भन्‍ने कुरा जनाउँछ । त्यस खतरालाई स्पष्ट पार्नको निम्ति थप वाक्यांशको प्रयोग गर्न सकिन्छ ।
    • ... पाप तेरो ढोकैमा आक्रमण गर्नलाई ढुकिबस्‍छ

२. ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्‍नु हुँदैन भन्‍ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।

  • ... पाप तेरो ढोकैमा ढुकिबस्‍छ (उत्पत्ति ४:७ ) - यसलाई "झैँ" को प्रयोग गरेर अनुवाद गर्न सकिन्च ।
    • ... पाप जङ्गली जनावरझैँ तेरो ढोकैमा ढुकिबस्‍छ ।

३. व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्‍नुहोस् ।

  • ... बतास र समुद्रले पनि यिनका आज्ञा मान्‍दारहेछन् (मत्ती ८:२७ ) - ती मानिसहरूले "बतास र समुद्रलाई सुन्‍नसक्ने" र मानिसहरूझैँ येशूको आज्ञा पालन गर्ने व्यक्तिको रूपमा व्यक्त गरेका छन् । यसलाई आज्ञा मानेको कुरालाई उल्लेख नगरी येशूले तिनीहरूलाई नियन्त्रण गरेको कुरालाई उल्लेख गरेर अनुवाद गर्न सकिन्छ ।
    • उहाँले बतास र समुद्रलाई पनि नियन्त्रण गर्नुहुँदो रहेछ

टिप्पणी: हामीले "व्यक्तिविधान" को परिभाषालाई वृहत्तर बनाएर "वस्तु र विचारलाई प्राणीको रूपमा प्रस्तुत गर्ने अलङ्‍कार" र "मानवीकरण" लाई पनि समेटेका छौँ ।