ne_ta/checking/vol2-steps/01.md

16 KiB

अनुवाद जाँचका चरणहरू

जाँच अगाडि

१. तपाईंले जाँच गर्नु पर्ने कथा वा बाइबलको खण्डको बारेमा पहिले नै थाहा गर्नुहोस् । २. तपाईंले बुझ्‍ने भाषाका धेरै संस्करणबाट खण्डलाई पढ्नुहोस् सम्भव भए मूल भाषाहरू पनि समेट्नुहोस् । ३. ULT र UST मा भएको खण्ड पढ्नुहोस् साथै टिप्पणीहरू र शब्दअनुवाद पनि पढ्नुहोस् । ४. अनुवाद गर्द कठिन हुने कुनै खण्डहरू छन् भने त्यसको टिप्पणी बनाउनुहोस् । ५. अनुवाद सहयोगहरू र व्याख्याहरूको अनुसन्धान गर्नुहोस् र पत्ता लागेका कुराहरूको टिप्पणी बनाउनुहोस्

जाँच गर्दा

१. प्रश्‍न सोध्नुहोस्। अनुवादमा समस्या हुन सक्ने कुनै कुरा देख्‍नुभयो भने अनुवादकलाई यहाँ यो समस्या रहेछ भनेर नभन्‍‍नुहोस् । यदि तपाईं लक्षित भाषा बोल्नुहुन्‍न भने अनुवादमा भएको समस्या तपाईंलाई थाहा हुँदैन । तपाईंले त्यो ठाउँमा समस्या हुनसक्छ भन्‍ने आशंका मात्र गर्नुहुन्छ । यदि तपाईं लक्षित भाषा नै बोल्नुहुन्छ भने पनि यहाँ यो समस्या रहेछ भनेर भन्‍नुभन्दा प्रश्‍न गर्नु नै शिष्ट हुन्छ । "यसलाई यसरी भन्दा कसो होला?" भन्‍ने प्रश्‍न सोध्‍न सक्नुहुन्छ । त्यसपछि अनुवादको विकल्प दिन सक्नुहुन्छ । त्यसपछि अनुवादका फरक विचारहरूको बारेमा सँगै छलफल गर्न सक्नुहुन्छ र अनुवादको कुन विकल्प राम्रो छ भन्‍ने बारेमा आफ्नो राय दिन सक्नुहुन्छ । त्यसपछि अनुवाद समूहले कुन विकल्प उत्तम छ भन्‍ने निर्णय गर्न सक्छन् । २. लक्षित भाषा र संस्कृतिको अन्वेषण गर्नुहोस् । कुनै वाक्यांशको अर्थ लक्षित भाषामा के हुन्छ भन्‍ने कुरा पत्ता लगाउन प्रश्‍न सोध्नुहोस् । कुनै वाक्यांशको अर्थ के हुन्छ र कसरी प्रयोग गरिन्छ भन्‍ने कुराको बारेमा अनुवादकलाई सोच्‍न मदत गर्ने प्रश्‍न नै सबैभन्दा उत्तम प्रश्‍नहरू हुन् । "तपाईंको भाषामा कुन अवस्थामा यो वाक्यांशको प्रयोग गरिन्छ?" वा "यस्तो किसिमको कुरा कसले र किन गर्छ?" जस्ता प्रश्‍नहरू उपयोगी हुन्छन् । बाइबलमा भएको व्यक्तिको जस्तो परिश्थितिमा तपाईंको गाउँमा भएको कुनै व्यक्ति भएको भए उसले के भन्थ्यो भन्‍ने बारेमा अनुवादकलाई सोच्‍न लगाउनु उपयोगी हुन्छ । ३. अनुवादकलाई सिकाउनुहोस् । लक्षित भाषा र संस्कृतिमा कुनै वाक्यांशको अर्थको अन्वेषण गरेपछि स्रोत भाषा र संस्कृतिमा यो वाक्यांशको अर्थ यो हो भनेर बताउन सक्‍नुहुन्छ । त्यसपछि दुबैजना मिलेर अनुवादकले सोचेको अर्थ र अनुवादमा प्रयोग गरिएको वाक्यांशको अर्थ एउटै छ कि छैन भनेर निर्णय गर्न सक्नुहुन्छ ।

सिधै अनुवादको जाँच

यदि तपाईं लक्षित भाषा बोल्नुहुन्छ भने तपाईंले अनुवाद पढ्न वा सुन्‍न सक्नुहुन्छ र सिधै अनुवाद समूहलाई यसको बारेमा कुरा गर्न सक्नुहुन्छ ।

लिखित वापस अनुवादको प्रयोग

यदि तपाईं लक्षित भाषा बोल्नुहुन्‍न भने तपाईँले बुझ्‍ने वापस अनुवाद प्रयोग गर्न सक्नुहुन्छ । यसलाई बेग्लै वा अन्तरापङ्क्तिको रूपमा लेख्‍न सक्नुहुन्छ । अन्तरापङ्क्तिको रूपमा लेखिएको वापस अनुवादले वापस अनुवादको तुलना गर्न सहज बनाउँछ र अलग्गै लेखिएको वापस अनुवादले अनुवाद पढ्न सहज बनाउँछ । हरेक विधिका आफ्नै सबल पक्षहरू छन् । वापस अनुवाद गर्ने व्यक्ति अनुवाद गर्ने कार्यमा संलग्‍न भएको हुनुहुँदैन् ।

१. सम्भव हुन्छ भने अनुवाद समूहसँग भेट हुनुअघि लिखित वापस अनुवादको समीक्षा गर्नुहोस् । यसो गर्नाले तपाईंलाई खण्डको बारेमा सोच्‍न र वापस अनुवादको कारण उत्पन्‍न हुने प्रश्‍नहरूमाथि अनुसन्धान गर्न समय मिल्छ । अनुवाद समूहसँग भेट गर्दा तपाईँलाई धेरै समय मिल्छ र अनुवादमा समस्या नभएका धेरै पाठहरूको बारेमा पनि छलफल गरिरहनु पर्दैन । तपाईँहरू भेट हुँदा समस्यामा मात्र केन्द्रित हुने हुँदा तपाईँहरूको भेटघाट उपलब्धिमुलक हुन्छ । २. वापस अनुवाद पढ्ने बेलामा अनुवादकलाई थप स्पष्ट बनाउनको निम्ति वा सम्भावित समस्याहरूमा अनुवादकलाई सहयोग गर्नको निम्ति सोध्‍ने प्रश्‍नको टिप्पणी बनाउनुहोस् । ३. अनुवादकसँग अनुवादको एक प्रति माग्‍नुहोस् (अन्तरापङ्क्ति अनुवाद नभएको अवस्थामा) यसले तपाईंलाई अनुवादलाई वापस अनुवादसँग तुलना गर्न र लक्षित अनुवादमा प्रयोग गरिएका तर वापस अनुवादमा प्रयोग नगरिएका योजकहरू र अन्य विशेषताहरूको बारेमा टिप्पणी बनाउन सक्नुहुन्छ । अनुवादलाई पहिले नै हेरियो भने वापस अनुवादले कुन ठाउँमा सही तरिकाले अनुवादको प्रतिनिधित्व गरेको छैन सो थाहा पाउन मदत गर्छ । उदाहरणको निम्ति, अनुवादमा प्रयोग गरिएका एउटै शब्दको वापस अनुवाद फरक परेका हुनसक्छन् । यस्तो अवस्थामा वापस अनुवादमा किन फरक पर्‍यो भनेर अनुवादकसँग सोध्‍न सक्नुहुन्छ र सुधार्नुपर्छ कि पर्दैन भन्‍ने निर्णय लिन सक्नुहुन्छ । ४. यदि अनुवादकलाई भेट्नुअघि अनुवाद हेर्ने मौका मिलेन भने भेट भएको बेला नै प्रश्‍नहरू सोधेर समाधान खोज्‍न सक्नुहुन्छ । अक्सर गरेर अनुवादलाई वापस अनुवादसँग तुलना गर्दा अनुवादकले अनुवादमा भएका समस्याहरू पत्ता लगाउन सक्छन् ।

मौखिक वापस अनुवादको प्रयोग

लिखित वापस अनुवाद उपलब्ध नभएको खण्डमा लक्षित भाषा र तपाईंले बुझ्‍ने दुबै भाषाको ज्ञान भएको कुनै व्यक्तिलाई मौखिक वापस अनुवाद गर्न लगाउनुहोस् । उक्त व्यक्ति लक्षित भाषाको अनुवाद गर्ने काममा सामेल नभएको व्यक्ति हुनुपर्छ । मौखिक वापस अनुवाद सुन्‍ने क्रममा गलत अर्थ दिने शब्द वा वाक्यांशहरूको सूची बनाउनुहोस् । अनुवाद गर्ने व्यक्तिले छोटो खण्डको अनुवाद गर्नुपर्छ र खण्डको बिचमा रोकिनुपर्छ यसले तपाईंलाई प्रश्‍नहरू सोध्‍ने अवसर मिल्छ ।

जाँचपछि

केही प्रश्‍नहरू जाँचपछिको निम्ति राख्‍नुपर्छ । ती प्रश्‍नहरूको बारेमा छलफल गर्नको निम्ति भेटघाटको समय मिलाउनुहोस् । ती प्रश्‍नहरू तल दिइएका छन्ः

१. बाइबलीय शब्द वा वाक्यांशहरूको सही अर्थहरू वा बाइबलमा भएका व्यक्तिहरूको सम्बन्ध वा बाइबलमा प्रयोग भएका स्थानहरूको प्रकृतिजस्ता बाइबलीय पाठमा आधारित तपाईं वा अन्य कसैले अनुसन्धान गर्नुपर्ने वा पत्ता लगाउनुपर्ने प्रश्‍नहरू यसमा पर्छन् । २. लक्षित भाषा बोल्ने अन्य व्यक्तिलाई सोध्‍नुपर्ने प्रश्‍नहरू । यसो गर्नुको मूख्य कारण केही वाक्यांशहरूले सही तवरले संचार गरेका छन् कि छैनन् भन्‍ने कुराको जाँच वा लक्षित भाषामा प्रयोग भएका सांस्कृतिक शब्दहरूको बारेमा अनुसन्धान गर्नु हो । यी अनुवाद समूहले आफ्नो समुदायमा फर्किएपछि सोधिने प्रश्‍नहरू हुन् ।

मूल शब्दहरू

अनुवाद समूहले अनुवादशब्दहरू (मूल शब्दहरू) को सूची बनाउनुपर्छ र यसको साथै लक्षित भाषामा ती शब्दहरूको अनुवादको रूपमा प्रयोग गरिने शब्दहरूको पनि सूची तयार गर्नुपर्छ । बाइबलको अनुवाद गर्ने क्रममा तपाईं र अनुवाद समूहले त्यो सूचीमा शब्दहरू थप्‍न वा परिवर्तन गर्नुपर्ने हुनसक्छ । मूल शब्दहरूको अनुवाद गर्ने क्रममा अनवुादशब्दहरूको सूचीको प्रयोग गर्नुहोस् । बाइबलमा भएको मूल शब्दको अनुवाद गर्दा त्यसको निम्ति छानिएको शब्दको प्रयोग गर्ने कुरामा ध्यान दिनुहोस् र त्यसले सही अर्थ दिन्छ कि दिँदैन भन्‍ने कुरा निश्चित गर्नुहोस् । यदि त्यसले सही अर्थ दिएन भने यसले किन अन्य ठाउँमा सही अर्थ दियो तर यस ठाउँमा दिएन भनेर छलफल चलाउनुहोस् । त्यसपछि तपाईंले छानिएको शब्दलाई परिवर्तन गर्नुपर्ने वा त्यस शब्दको निम्ति एकभन्दा बढी शब्दहरू प्रयोग गर्ने निर्णय गर्नुपर्ने हुनसक्छ । स्प्रेडसिटमा हरेक महत्त्वपूर्ण शब्दहरूको सूची बनाएर स्रोत भाषाको शब्द, लक्षित भाषाको शब्द र बैकल्पिक अनुवादको शब्दको निम्ति कोलमहरू निर्माण गर्नु उपयोगी हुन्छ । ट्रान्स्लेसनस्टुडियोको आगामी संस्करणहरूमा यो विशेषता सामेल हुने छ भन्‍ने आशा गर्छौँ ।